पूर्वअर्थमन्त्री वर्षमान पुनले आफूसँग वैचारिक निकटता भएका प्रधानमन्त्री र अर्थमन्त्री सरकारमा आएका कारण गभर्नरले खुकुलो नीति लिएको बताएका छन्।
बिहीबार अर्थ समितिको बैठकमा उनले गभर्नरले आफ्नो बाटोभन्दा विपरित गएर खुकुलो नीति ल्याएको बताएका हुन्।
उनले भने,‘विगत शेरवहादुर देउवाको नेतृत्वको सरकारलाई गभर्नरले साथ दिनु भएन। प्रचण्डको सरकारलाई पनि गभर्नरले साथ दिनु भएन। अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आउनासाथ उहाँले अलिकति खुकुलो गर्नुभयो। आफ्नो बाटोभन्दा विपरित खुकुलो नीति ल्याउनुभयो। यस्ता कुरामा जनताको प्रतिनिधि खुलेर बोल्नुपर्छ।’
यसको साथै उनले समग्रमा वित्तिय नीति र मौद्रिक नीतिको तालमेल मिलेको पनि बताए। उनले राज्यको निकायमा बसिसकेपछि जुनसुकै पृष्टभूमिको भएपनि जनता र राष्ट्रको बारेमा सोचेर काम गर्नुपर्ने भन्दै इगो लिएर काम गर्न नसक्ने बताए।
यसको साथै उनले कुनै चलखेल र लेनदेनविना काम गर्ने राम्रो र योग्य व्यक्तिलाई बोर्डको नेतृत्वमा ल्याउनुपर्ने बताए।
उनले भने, ‘धितोपत्र बोर्डमा प्रोफेसनल र नेतृत्वका विषयमा धेरै कर्पोरेट हाउसले चासो राखेका छन्। मुख्य चासो नियामक र राम्रो नेतृत्व होस भन्ने छ। फेयर र असल मान्छे आउनुपर्यो। गठबन्धनले राम्रो नेतृत्व ल्याउनु पर्छ। धितोपत्र बोर्डको अध्यक्ष राम्रो होस र नियमन गर्न सकोस। कुनै लेनदेन गर्ने खालको नहोस।’




















