आइतबार अमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गर्‍यो।

टेक्सासको ग्यास स्टेशनमा कार्यरत रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय विकास वली लुटेरा समूहको गोलीबाट मारिए।

साउन १३ गते बिहान ५ बजे आएको लुटेरा समूहले उनीमाथि गोली प्रहार गरेको थियो।

वली ७ महिनाअघि मात्र अवैध रुपमा अमेरिका छिरेका थिए। अमेरिका पुग्न उनले ८० लाख खर्चिएका थिए। घरबाट निस्किएको करिब दुई वर्षपछि मात्र उनी अमेरिका पुगेका थिए। दुईदिन अघि उनको अमेरिकामै अन्त्येष्टि गरिएको छ।

अमेरिकामा लुटेरा समूहबाट नेपाली मारिएको यो घटना पहिलो होइन। २०७९ पुस २२ गते पनि तनहुँ दमौलीका ५३ वर्षीय भेषराज लामिछाने लुटेरा समूहबाटै मारिएका थिए। ८ वर्षअघि अमेरिका गएका उनले कोलोराडोमा स्टोर खोलेका थिए।

२२ पुस राति ८ बजे स्टोरमै बसिरहेको बेला बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो।

त्यसको एक वर्ष अघि पनि अमेरिकामा बन्दुकधारी समूहबाट अर्को एक जना नेपाली मारिएका थिए। उनी थिए–धनुषाका ५४ वर्षीय लालकिशोर महासेठ।

२०७८ कार्तिकमा मासाचुसेट्स राज्यको एक सपिङ सेन्टरमा रहेका बेला अज्ञात व्यक्तिले उनलाई गोली हानेको थियो। उनी स्टोरका क्लर्क थिए। परिवारसहित अमेरिका बस्थे।

२०७७ चैतमा टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखराका रमेश थापाका पनि लुटेरै समूहको गोलीबाट मारिएका थिए। लुटेराले थापालाई राति १२ः३० बजेतिर गोली चलाएका थिए। उनी ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए।

लुटेरा समुहकै शिकार भएका अर्का नेपाली हुन्, चितवनका रेशम बजगाईं। अमेरिकाको भर्जिनियामा ग्यास स्टेसनमा काम गरिरहेका रेशमलाई २०७५ साल असारको राति करिब २ बजे लुटपाट गर्न आएको समूहले हत्या गरेको थियो। बजगाईं सेप्टेम्बर २०१७ मा मात्र अमेरिका गएका थिए। उनी श्रीमती र पाँच वर्षीय छोरीको साथमा बस्थे।

२०६६ पुसमा अमेरिकाको बोस्टनमा फुड स्टोरमा कार्यरत ४० वर्षीय सुरेन्द्र डंगोल लुटेरै समूहबाट मारिए। काठमाडौं घर भएका डंगोललाई स्टोरमा लुटपाटपछि गोली हानिएको थियो।

अमेरिकामा बन्दुकसँग सम्बन्धित घटनामा हरेक वर्ष सयौं मानिस मारिंदै आएका छन्। अमेरिकामा व्यक्तिगत सुरक्षाका लागि हात हतियार राख्न पाउने वैधानिक व्यवस्था छ। तर मास सुटिङ, लुटपाटपछि हत्या जस्ता ‘गन भ्वाइलेन्स’ का घटना बढ्दो छ। यस्ता घटनामा आप्रवासी नेपालीहरू पनि पर्ने गरेका छन्।