काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ। 

नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्न चाहान्छ। शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ। 

इरान भने घरेलु टोली नेपाललाई स्तब्ध पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लने लक्ष्यसहित मैदान प्रवेश गर्नेछ। 

लिगमा २ खेलबाट ५ अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ। एक खेल बढी खेलेको इरान पनि ५ अङ्कमा तेस्रो स्थानमा छ। 

समान ३ खेल खेलेको भारत ७ अङ्कमा तालिकाको शीर्ष स्थानमा छ। 

२ खेलबाट १ अङ्क बनाएको श्रीलङ्का चौथो र त्यति नै खेलबाट अङ्क विहिन मालदिभ्स भने अङ्क तालिकाको पुछारमा छ। 

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा पाखा लगाएको थियो। दोस्रो खेलमा भने शनिबार भारतलाई ३–१ को सेटमा हराएको थियो। 

इरानले भने शनिबार नै भएको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएको थियो। श्रीलङ्कामाथि ३–२ को सेटमा जित निकालेको इरानले भारतविरुद्ध भने ३–१ को सेटमा पराजित भएको थियो।