सिरहाको गोल बजार नगरपालिका ३ सात पत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ। गुम्तीको अघिल्तिर पाँच सात जना मानिसहरूले घेरा हालेको हरहमेसा देखिन्छ। गुम्तीमा ४२ वर्षीय रैथाने शारीरिक रूपमा अशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ। उनको सस्तो र स्वादिलो नास्ता खान हिजोआज घुइँचो लाग्न थालेको छ।
इन्द्र साह जन्मजात अपाङ्ग होइनन्। एक प्रलयकारी दुर्घटनामा परेर उनको दाहिने खुट्टा घुँडामाथिबाटै काटेर मिल्काउनु पर्यो। उनी वैशाखीको सहारामा हिँडडुल गर्छन्। एकाबिहानै उनी घरबाट उठेर पाँच सय मिटरको दूरीमा रहेको पसलमा वैशाखी टेक्दै आउँछन्। दिनभरि पसल चलाउँछन् र रातपरेपछि घर फर्किन्छन्।
२०७६ असार २७ गतेसम्म उनी हट्टाकट्टा तन्नेरी र सपाङ्ग थिए। आफ्नै एउटा पिकअप भ्यान किनेर आफै ड्राइभिङ गर्थे। मालसामान ढुवानी गर्थे। २०७६ असार २७ गते उनी काठमाडौँमा सामान उतारेर घर सिराहातर्फ फर्किँदै थिए।
बीपी राजमार्गको नेपाल थोक नजिक पहिरोमा साहको पिकअप पुरियो। बडेमाको एउटा ढुङ्गाले उनको पिकअप भ्यानलाई कच्याककुचुक हुने गरी थिच्यो। पहिरो पन्छाएर साहलाई जीवितै उद्धार गरियो र काठमाडौँ स्थित बीएण्डबी अस्पतालमा भर्ना गराइयो।
४८ दिन आइसियु र त्यसपछि चार महिनाको अस्पताल बसाई पछि उनी घर फर्किए तर उनको दाहिने खुट्टा घुँडादेखि माथिबाटै काट्नु पर्यो।
साह भन्छन् ‘डुँडो खुट्टा लिएर घर फर्के। श्रीसम्पत्ति बेचेर ४८ लाख रुपैयाँ अस्पताललाई बुझाएँ। बिमाले जम्मा नौ लाख दियो। पिकअप भ्यान पनि कवाडी भयो। जीवन त जोगियो तर १० जनाको परिवार र आफ्नै जिन्दगीको भार वैशाखीमा हिँडेर कसरी पाल्ने चिन्ताले सतायो।’
‘लामो समयसम्म घरमा त्यसै बसिरहन उनको मनले मानेन्। २०७८ सालमा राजमार्ग छेउमा एउटा गुम्ती (कठघरा) राखेँ। उनले चिया र नास्ताको पसल थापे। सुरुमा थोरै बिक्री हुन्थ्यो। पछि पछि प्रचार हुँदै गयो। अहिले दिन बदलियो। साह भन्छन् अब म नास्ता दिनै भ्याउँदिन। ग्राहकको चाप ह्वात्तै बढेको छ,’ उनले सुनाए।
साहको पसलमा अहिले चिउरा, मुरही (भुजा) चना घुघनी (विरौला), कचरी, आलुचप, हरियो खुर्सानी, प्याज एक टुक्रा र वीरेनुनको नास्ता सेट छ। त्यसमाथि शुद्ध दुधको स्पेसल चिया छ। गुम्तीभित्रै बसेर उनी कागजमा नास्ता दिन्छन्। ग्राहकले आफैँ उठेर नास्ताको पोका लैजान्छन्। गुम्तीको छेउमा तीन वटा बेन्च छ। त्यसमा बसेर ग्राहकहरू हात–हातमा नास्ताको पोका लिएर खान्छन्। बस्ने ठाउँ नपाउनेले उभिएरै खान्छन्। आलुचल र कचरी प्याकिङ्ग गरेर घर घरमा लैजान्छन्। दिनभरिमा २ सय देखि दुई सय २५ जना ग्राहकले उनको पसलको नास्ता खान्छन्। एउटा खाजाको पोकाको ६० रुपैयाँ पर्छ। दिनभरिमा १०–१२ हजारको बिक्री हुन्छ।
साहको पसलमा ग्राहक ओइरिनुको कारण छ। उनले आज पकाएको कचरी र आलुचपको तेल भोलिपल्ट प्रयोग गर्दैनन्। बासी कचरी आलुचप र चना दिदैंनन्। डढेको तेलमाथि अर्को तेल थपेर पकाउँदैनन्। शुद्ध खाने तेल मात्र प्रयोग गर्छन्। नास्ता पेट भरिने गरी दिन्छन्, त्यो पनि मात्र ६० रुपैयाँमा। अन्य पसलको तुलनामा सस्तो छ। साहले पकाएको चनाको घुघनी औधी स्वादिष्ट छ। छेउछाउका ग्राहक र राजमार्गमा चल्ने साना यात्रुबाहक गाडीहरूले पनि रोकेर खाजा खान थालेका छन्।
साह भन्छन्, ‘पहिले पहिले अपाङ्गको पसल भनेर दयामाया देखाउँदै ग्राहक आउँथे तर अहिले उनको नास्ताको स्वाद सम्झेर ग्राहक आउँछन्।’
साहले आफैँले पसल र वरपर सरसफाई गर्छन्। प्याज काट्नु, आलु उसिन्नु, चना घुघनी पकाउने, बाल्टिनमा पानी ल्याउने, कचरी र आलुचप तार्ने र नास्ता पस्केर दिने यावत कार्य आफै गर्छन्। बजारबाट सामान पनि आफैँ किनेर ल्याउँछन्। कसैको सहयोग चाहिँदैन। झमक्क साँझ परेपछि उनी पसल बन्द गरेर घर जान्छन्। साह भन्छन्,‘कसैले मलाई अपाङ्ग हो भनेर नठानुन्। म सबै काम आफै गर्छु।’
साहका चार जना भाइबहिनी छन्। बा, आमा, पत्नी, एक छोरा र एक छोरी गरी १० जनाको परिवार छ। छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने र सम्पूर्ण परिवारको भरण पोषण तथा रेखदेखको जिम्मेवारी शारीरिक रूपमा अशक्त इन्द्रकै काँधमा छ। सपाङ्ग हुँदा उनी अत्यन्त ऊर्जावान् युवा थिए नै, अपाङ्ग हुँदा पनि उनको जोस र जाँगरमा बिञ्चित कमी आएको छैन। इलमी इन्द्र गोल बजार नगरपालिका भित्र युवाहरूको आदर्श र अन्य अपाङ्गहरूका लागि पनि प्रेरणाका स्रोत बनेका छन्।