पोखरामा सम्पन्न नेपाल–भारत सहसचिव स्तरीय संयुक्त प्राविधिक टोलीको १७ औँ बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्त्वपूर्ण सहमतिहरू भएका छन्।

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर भगवान् सहाय बैरवाको सह–अध्यक्षतामा कार्तिक १७ र १८ गते बैठक सम्पन्न भएको हो।

बैठकमा विद्युत् आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तर देशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ। विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डिपिआर नोभेम्बर २०२५ भित्र तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरिएको छ।

त्यस्तै, नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने र यस प्रसारण लाइनमार्फत हुने विद्युत् आयात–निर्यात क्षमताबारे उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र थप छलफल गर्ने निर्णय भएको छ।

ढल्केभर–मुजफ्फरपुर तथा ढल्केभर–सितामढी लाइनमार्फतको विद्युत् आदान–प्रदान क्षमताको पुनर्मूल्यांकनपछि नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट विद्युत् आयात गर्न सक्ने क्षमता कायम भएको निष्कर्ष निकालिएको छ।

यसबाहेक निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपिआर तयारीका लागि नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले डिपिआर तयार गर्ने सहमति भएको छ। लमही–लखनउ ४०० के.भी. प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर रहनेबारे संयुक्त अध्ययन गरी डिपिआर बनाइने पनि जनाइएको छ।

ढल्केभर–मुजफ्फरपुर ४०० के.भी. लाइनलाई उच्च तापक्रम सहन सक्ने प्रविधि प्रयोग गरी रिकन्डक्टरिङ अघि बढाइने र रक्सौल–परवानीपुर तथा रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धिका लागि कन्डक्टर प्रतिस्थापनसम्बन्धी संयुक्त अध्ययन सुरु गरिनेछ।

बैठकले नेपाल र भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने मार्ग प्रशस्त गरेको बताइएको छ।