कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई कुटपिट गर्ने धम्की दिएको आरोप लगाएका छन् । पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई टेलिफोन गरी कुटपिटको धम्की दिएको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालयमा कार्कीविरुद्ध कारबाहीका लागि निवेदन दिएपछि घटना बाहिरिएको हो ।
सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनमा पूर्वमुख्यमन्त्री तथा वर्तमान प्रदेशसभा सदस्य कार्कीले साउन ७ गते अपराहन्न ४ः५३ बजे फोन गरी विराट गोल्डकपको विषयलाई लिएर गालीगलौज गर्दै धम्की दिएको उल्लेख छ ।

सचिव भट्टराईका तर्फबाट पूर्वमुख्यमन्त्री कार्कीविरुद्ध निवेदन परेको पुष्टि गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले टेलिफोनमार्फत् कसैलाई कुटपिटको धम्की दिने छुट कसैलाई नभएकाले मोरङ जिल्ला प्रहरी प्रमुखसँग आफूले घटनाबारे छलफल गरेको जानकारी दिए । सचिव भट्टराईलाई आवश्यक सुरक्षाको व्यवस्था गर्न आफू तत्पर रहेको उनको भनाइ थियो ।

पूर्वमुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्दै आफूमाथि कुटपिटको धम्की दिएको सचिव भट्टराईले बताए । शान्ति सुरक्षाको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको बताउँदै उनले सो निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको स्पष्ट पारे ।
कुटपिट गर्ने धम्की दिएको आरोप लागेका पूर्वमुख्यमन्त्री कार्की नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।




















