काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपालमा कृषि क्रान्तिका धेरै चुनौतीहरु रहेको बताएका छन् ।
मंगलबार ४२ औं वीपी स्मृतिको अवसरमा ‘नेपालमा आर्थिक क्रान्ति सम्भावना र चुनौती’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले नेपालमा कृषि क्रान्ति सम्भव भएपनि धेरै चुनौतीहरु रहेको भन्दै त्यसको लागि आन्तरिक उत्पादनकर्ताहरुलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो आन्तरिक उत्पादनकर्ताहरुलाई प्रोत्साहन र संरक्षण पनि गर्नुपर्छ । त्यसको लागि राज्यको तर्फबाट अनुदार र सहयोगहरु प्रदान गर्न सकिन्छ । त्यस्तैगरि ऋण अनुदान दिनपनि सक्छौ । हामीले प्रविधिको प्रयोगसँगै, सुरक्षा, भन्सार र आन्तरिक रुपमा अनुदान दिन सक्नुपर्छ । नेपालमा कृषि क्रान्ति सम्भव छ तर चुनौतीहरु छन् ।’
यसको साथै उनले कृषिको आकारलाई बढाएर व्यवसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आवश्यकता पूर्तीसँगै निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्ने बताए ।
उनले भने, ‘हामीले कृषिको आकारलाई ठूलो बनाउनुपर्छ । जुन क्षेत्रको जस्तो विशेषता छ त्यही विशेषतालाई प्रयोग गरेर ठूलो मात्रामा व्यवसायिक हिसाबले उत्पादन सुरु गर्ने हो भने आफ्नो आवश्यकता मात्रै पूर्ती हुने होइन कि निर्यात गर्ने अवस्थामा पनि पुग्न सक्छौ । नेपालमा रहेको जमिन, स्रोेत र साधनको भरपूर प्रयोग गर्न सक्नुपर्छ ।’