नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउदैँमा वैकल्पिक शक्ति बन्न सकिने बताएका छन् । 

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा,सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए । 

उनले भने, ‘पार्टी गठन गर्ने, चार जना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनुहुदैँन ।जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ।’

यस्तै, उनले भारतसँगको असमान सम्बन्धन सच्याएसम्म नेपालको विकास हुनसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए । 

उनले भने, ‘म कसैलाई गाली गर्ने पक्षमा छैन् । तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ । खुल्ला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध  बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन ।’