सरकारका मन्त्री एवम विभिन्न दलका नेताहरुले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरे। शनिबार बिहान द्वारिकाज होटल पुगेका पौडेलले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन्। 

अर्थमन्त्री पौडेलले नेपालको पर्यटन क्षेत्रमा स्व श्रेष्ठले पुर्याएको योगदानको प्रशंसा गर्दै उनको योगदान नेपालको पर्यटन क्षेत्रको इतिहासमा सदा अविस्मरणीय रहने बताए। उनले स्व श्रेष्ठका परिवारजनप्रति समवेदनासमेत व्यक्त गरे।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले श्रेष्ठको निधनबाट नेपालले एक अनुभवी पर्यटन व्यवसायी गुमाएको बताएका छन्। उनले दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

काग्रैस नेता अर्जुन नरसिंह केसीले पनि श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले लेखेका छन्,‘निरन्तर संघर्ष गरेर अनेक आरोहअवरोह पार गर्दै आजको होटल द्वारिकाजकी संस्थापिका तथा पर्यटन व्यवसाय क्षेत्रको अग्रणी महिला उद्यमी, सामाजिक कार्यमा जीवन्त र सक्रिय अम्बिका श्रेष्ठको निधनको खबरले अत्यन्त दुखित छु।’

श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो। लामो समयदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनुभएकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो। स्व श्रेष्ठको शनिबार पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिदैछ।