उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गरेका छन्।

बिहीबारदेखि वीर अस्पताल उपचाररत ८५ वर्षीय पूर्वप्रधानमन्त्री चन्दलाई निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका छोरा अरुण चन्दले जानकारी दिए। उनका अनुसार अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको र मंगलबारसम्म ‘डिस्चार्ज’ हुने अपेक्षा गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्दसहित पुगेका उद्योगमन्त्री भण्डारीले पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्यलाभको कामना गर्दै घर फर्किएपछि मन्त्रालयका सुझाव लिन निवासमै आउने समेत बताएका थिए।