राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि आज (शनिबार) त्यस तर्फ प्रस्थान गरेकी छिन् ।
चीनको युनान प्रान्तको कुन्मिङ सहरमा हुन लागेको ८ औं चीन–दक्षिण एसिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी चीन प्रस्थान गरेकी हुन् ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधी मण्डल इष्टर्न चाईना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ । प्रतिनिधि मण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रिय सभाका सदस्यहरु माया प्रसाद शर्मा, तुलसा कुमारी दाहाल र दुर्गा कुमारी गुरुङ, संघीय संसद सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेम बहादुर सिंह छन् ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधी मण्डलले जुलाई २३ मा हुने प्रर्दशनीको उद्घाटन समारोहमा भाग लिनेछ । प्रर्दशनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रतिनिधि मण्डलले युनान प्रान्तका उच्च अधिकारीहरुसँग भेट गर्नेछ। प्रतिनिधि मण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने तालिका रहेको छ।