बेलबारी : मोरङको बेलबारी नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।
नगरपालिकाको सभाहलमा सम्पन्न सार्वजनिक सुनुवाइमार्फत् नगरपालिकाले बजेट कार्यान्वयनका क्षेत्रमा हालसम्म भएका प्रगतिबारे जानकारी दिएको हो।
सार्वजनिक सुनुवाइका क्रममा गत वर्षको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइमा उठेका प्रश्न तथा सो प्रश्नमाथि नगरपालिकाका तर्फबाट हालसम्म भएको सम्बोधनको समीक्षासमेत गरिएको थियो। समीक्षाबाट नगरले प्रवाह गर्ने विभिन्न प्रकृतिका सेवामा नागरिकको पहुँच तथा सन्तुष्टिबारे मिश्रित नतिजा प्राप्त भएको देखिएको थियो।
सुनुवाइका क्रममा सहभागीले उठाएका प्रश्नमाथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, सम्बन्धित शाखाका प्रमुख तथा विभिन्न संस्थाका प्रतिनिधि र नगरप्रमुख दिलप्रसाद राईले जवाफ दिए।
सहभागीका प्रश्नमाथि जवाफ दिँदै नगरप्रमुख राईले नगरपालिका क्षेत्रमा सञ्चालित परियोजनाबाट कन्टिन्जेन्सीका रूपमा काटिने रकम मर्मतसम्भार कोषमा जम्मा गरी मर्मतसम्भारका कार्यमा खर्च हुने गरेको जानकारी दिए।
सहकारीको समस्या समाधानका लागि सहकारीसँग सम्बद्ध पक्षलाई आवश्यक तालिमको प्रबन्ध नगरपालिकाले मिलाएको बताउँदै उनले निष्कृय सहकारीसँग छलफल गरी चालु वा बन्द गराइने स्पष्ट पारे। अन्य पालिकामा मुख्य कार्यालय रहेका सहकारीले बेलबारीमा शाखा सञ्चालन गर्न नपाउने व्यवस्था कडाइका साथ लागु गरी बचत अपचलनजस्ता कसुर नियन्त्रणको प्रयास गरिएको उनको भनाइ थियो।
किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन वैकल्पिक सिँचाइको व्यवस्था नभएका स्थानका कृषकलाई स्थलगत सर्वेक्षण गरी मापदण्ड पूरा गरी बोरिङ वितरण गरिएको नगरप्रमुख राईले बताए।
व्यावसायिक, आवास र कृषि क्षेत्रको करको दर फरक रहेको बताउँदै उनले खेतलाई आवास क्षेत्रका रूपमा देखाउँदा स्थानीयले बढी कर तिर्नुपर्ने अवस्था आएको जानकारी दिए।
सम्पति कर र कृषितर्फका भूमि कर घटेको बताउँदै उनले निश्चित समय निर्धारण गरी सो समयभित्र घरबहाल कर तिर्ने ग्राहकलाई ५० प्रतिशत छुट दिने नगरपालिकाको योजना रहेको उल्लेख गरे।
सडक कालोपत्रे गर्ने कार्य समयमा सम्पन्न नगर्ने ठेकेदारको ठेक्का रद्ध गरी नयाँ ठेक्कामार्फत् काम पूरा गराउने प्रकृया अगाडि बढेको नगरप्रमुख राईले बताए। बजेट वितरणमा पहुँचवालाको हालिमुहाली रोक्न बजेट माग गर्दा वडा र टोल विकास समिति दुवैको सिफारिसि अनिवार्य गरिएकाले पहुँचवालाले मात्र बजेट पाउने अवस्था नआउने उनले स्पष्ट पारे।
बेलबारीमा ३० ओटा सामुदायिक विद्यालय सञ्चालित रहेकोमा ती विद्यालयबाट सात सय ३० जना विद्यार्थी गत वर्षको एसईई परीक्षामा सामेल भई सोमध्ये तीन सय १३ जनाले मात्र एसईई उत्तीर्ण गरेको बताउँदै नगरप्रमुख राईले नतिजा सुधारका लागि कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई तीन महिनासम्म गणित विषयको अतिरिक्त कक्षा नगरपालिकाले निःशुल्क दिने प्रबन्ध गरिएको जानकारी दिए। यसैगरी, कक्षा १२ मा अध्ययनरतमध्ये १२ प्रतिशत विद्यार्थीको शुल्क नगरपालिकाले तिरिदिनेसमेत उनले उल्लेख गरे।
यसैगरी, नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकालले चालु आर्थिक वर्ष २०८०/०८१ को चालु खर्च हालसम्म ८२.६ प्रतिशत र पूँजीगत खर्च ५४.५ प्रतिशत खर्च भएको बताए। उनका अनुसार चालु तथा पूँजीगत गरी हालसम्म जम्मा ७२.५ प्रतिशत बजेट खर्च भएको छ।
क्षेत्रगत रूपमा हेर्दा आर्थिक विकासतर्फको खर्च ७३ प्रतिशत पुगेको तथा पूर्वाधार विकासतर्फ ५६.६ प्रतिशत बजेट खर्च भएको उनको भनाइ थियो। सामाजिक विकासतर्फ ८३.२ प्रतिशत खर्च भएको बताउँदै उनले सुशासन तथा सार्वजनिक क्षमता विकासतर्फ ५६.५ प्रतिशत तथा वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४५ प्रतिशत बजेट खर्च भएको बताए।
नगरप्रमुख राईको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनुवाइमा नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले स्वागत तथा धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन्। सबै वडाका वडाध्यक्षहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू लगायतको उपस्थितिमा सुनुवाइ सम्पन्न भएको थियो।