बेलबारी : मोरङको बेलबारी नगरपालिकाले नगरका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको छ। पालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले नगरको १ र ८ नम्बर वडावासी ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको हो। शाखाका अनुसार १ नम्बर वडाका एक सय २० जना र ८ नम्बर वडाका एक सयभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।७५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई सम्बन्धित वडामै नगरप्रमुख र उपप्रमुखसहित वडाका जनप्रतिनिधिको उपस्थितिमा सम्मान गरिएको शाखाले उल्लेख गरेको छ। नगर अन्य वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्न आगामी आर्थिक वर्षमा पनि ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिने नगरपालिकाको योजना छ।
ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दिलप्रसाद राईले सबै ज्येष्ठ नागरिकहरूलाई तनावमुक्त र स्वस्थकर जीवनशैली अपनाउन सल्लाह दिँदै उनीहरूको दीर्घायुको कामना गरे। लामो समयको अनुभव र ज्ञानले ज्येष्ठ नागरिकहरूमा दूरदर्शिता संयमको विकास भएको हुने हुँदा त्यस्ता गुणहरूलाई समाजको वृहत्तर हितका लागि प्रयोग गर्न ज्येष्ठ नागरिकलाई परिवार र समाजका साथै राज्यले पनि संरक्षण र सम्मान गर्नुपर्ने उनको भनाइ थियो।
यसैगरी, पालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले देशको सर्वाङ्गीण विकासमा ज्येष्ठ नागरिकको श्रम, सीप र ज्ञानको ठूलो योगदान रहने हुँदा जीवनको उत्तरार्धमा उनीहरूप्रति सेवा, सम्मान र सद्भाव प्रकट गर्ने दायित्व युवा पुस्ताले निर्वाह गर्नुपर्ने बताइन् । ज्येष्ठ नागरिक नै अहिलेका युवाको अस्तित्वको आधार भएको बताउँदै उनले आफूलाई सक्षम बनाउन ज्येष्ठ नागरिकले गरेको त्याग र समर्पणको कदर युवा पुस्ताले गर्नुपर्ने उल्लेख गरिन् ।
ज्येष्ठ नागरिकको योगदान र क्षमताको उच्चतम उपयोगका लागि सरकारी नीति ज्येष्ठ नागरिकमैत्री बनाउँदै जानु आवश्यक छ।