बेलबारी : मोरङको बेलबारी नगरपालिकाले खोटाङको चिसापानीमा सम्पन्न अन्तरपालिका अध्यक्ष कप भलिबल प्रतियोगिता २०८१ को प्रथम संस्करणको प्रतिस्पर्धाबाट उपाधि जितेको छ। असार २६ गतेदेखि २८ गतेसम्म चलेको प्रतियोगितामा आठओटा पालिकाका टिमले प्रतिस्पर्धा गरेकोमा बेलबारी नगरपालिकाले उपाधि आफ्नो पोल्टामा पारेको हो। बेलबारी नगरपालिका मोरङ जिल्लाबाट प्रतिस्पर्धामा उत्रिएको एक मात्र टिम रहेको थियो। बेलबारीले जेठ २८ गते सम्पन्न फाइनल भिडन्तमा झापाको दमक नगरपालिकाको टोलीलाई ३–१ को सेटमा पराजित गर्यो।
विजेता टोली बेलबारीले ट्रफी र मेडलका साथमा दुई लाख रुपियाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता बनेको दमक नगरपालिकाले ट्रफी र मेडलसहित नगद एक लाख ५० हजार रुपियाँमा चित्त बुझायो।
आफ्नो पालिकाका खेलाडीहरूको टोलीले भलिबल प्रतियोगिता जितेकोमा खुसी व्यक्त गर्दै बेलबारीका नगरप्रमुख दिलप्रसाद राईले खेलाडीहरूलाई बधाइ दिएका छन्। उच्च मनोबल र कडा अनुशासनका साथ खेलकर्ममा लाग्न खेलाडीलाई प्रेरित गर्दै उनले भविष्यमा व्यावसायिक खेलाडीका रूपमा आफूलाई स्थापित गर्न बेलबारीका खेलाडी सक्षम होउन् भन्ने शुभकामनासमेत व्यक्त गरे। बेलबारी नगरपालिका यस्ता प्रतिस्पर्धामा विगतमा दोस्रो स्थानमा आउने गरेकोमा हाल भने उपाधिमाथि नै कब्जा जमाउन सफल भइरहेको बताउँदै उनले भलिबल क्षेत्र बेलबारीको साख र ख्याती प्रवद्र्धनका लागि नयाँ सम्भावनाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरे।
खेल क्षेत्रबाट अपेक्षाकृत नतिजा प्राप्त गर्दै नगरको ख्याती बढाउने ढङ्गले खेलाडीको क्षमता अभिवृद्धि र खेल पूर्वाधार निर्माणतर्फ स्थानीय सरकारको ध्यान केन्द्रित हुन आवश्यक छ।