सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अनुसूची २ मा रहेका ९ वटा सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ।

संसदीय विशेष समितिको बुधबार बसेको बैठकले अनुसूची २ मा रहेका ९ वटा सहकारी संस्थाहरूको सम्बन्धित निकायहरूबाट कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।

यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए।

रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ।