झापा र सुनसरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। हिजो बिहान झापाको कमल गाउँपालिका-२ का ४६ बर्षीय राजन खड्का काम गर्न खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएकोमा उपचारको लागी आम्दा अस्पताल दमक पुर्याउना साथ उनको मृत्यु भएको हो। यसै गरी गौरादह-८ का ४२ बर्षीय बिकास गिरीलाई खेतमा काम गरीरहेको अवस्थामा चट्याङले लागी घटनास्थलमै मृत्यु भएको हो। सोही दिन बिहान सुनसरीको रामधुनी नगरपालिका-४ का ३० बर्षिय उमेश कुमार चौधरीलाई समेत खेतमा काम गरीरहेको अवस्थामा चट्याङ लागेर घाईते भएकोमा उनको बिराट टिचिङ हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै, हिजो बिहान मोरङको केराबारी गाउँपालिका-४ का चित्र बहादुर राईको ११ बर्षीय छोरा श्याम राई साथीहरुसंग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोमा आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए। उनिसंगै बिद्यालय जाँदै गरेका १४ बर्षीय भरत राई, १३ बर्षीय अनुप राना, १२ बर्षीय प्रबिन राई र १२ बर्षीय अर्पन लिम्बु समेतलाई खोलाले बगाउदै गरेको अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा सकुशल उद्वार गरी आफन्तलाई जिम्मा लगाईएको छ।
यसैगरी, मोरङको सुन्दरहरैचा नगरपालिका ५- स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन। मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन। हिजो दिउँसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक सहितको टोली खटी खोज तलासको क्रममा प्रेमकला चौधरीलाई खोला किनारमा मृत अवस्थामा फेला पारेको हो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको छ। बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको स्थानिय प्रहरीद्वारा खोजी कार्य भईरहेको छ।
त्यसैगरी,हिजो बेलुका झापाको मेचीनगर नगरपालिका-१४ का बामरा सतारको डेढ बर्षका छोरा रिहान सतारको घर नजिकै रहेको खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबी मृत्यु भएको हो। मृतक बालको शवलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ।