कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने घटनामा ६ जना घाइते भएका छन्।

मृत्यु हुनेमा जोशीपुर–३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी उपमहानगरपालिका–१८ का २७ वर्षीय शालिम चौधरी रहेका छन्।

बुधबार बिहान चट्याङ पर्दा खेतमा काम गरिरहेका डगौरा र चौधरीको मृत्यु भएको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले बताए।

डगौरालाई आफन्तले स्थानीय महापार्वती क्लिनिकमा लगेका थिए। उनको त्यहीँ मृत्यु भएको हो भने चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।