मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको केराबारी गाउँपालिका–२ सिंंहदेवस्थित जेफाले पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ।

इलाम बिर्साउने चिया बगान, धनकुटाको भेंडेटार बिर्साउने भ्यु टावर र चिसो मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो।

मोरङ जिल्लाको एक मात्र चिया बगान, जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने र विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजङ्घा पनि देखिने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ।

सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्ने जेफाले डाँडो एक हजार ९ सय ७० मिटर उचाइमा छ। यहाँ बाह्रैमास हावा चलिरहने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ। यहाँबाट पूर्वको १६ जिल्ला नाङ्गो आँखाले देख्न सकिन्छ। जेफाले जाने सडक भने लामो समयदेखि निर्माणधीन अवस्थामा रहेकाले बर्षाको समय सवारी साधन चल्ने अवस्था छैन।

जेफाले भ्युटावरबाट दक्षिण पश्चिममा पाथीभरा देवीको मन्दिर छ।