सहकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार पोखरामा कालो झण्डा देखाएका छन्।
नेकपा माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण भाग लिन पोखरामा रहेका प्रधानमन्त्री प्रचण्डलाई बुधबार सूर्यदर्शन सहकारीपीडितहरूले कालो झण्डा देखाएका हुन्।
पोखरा सभागृहअगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा र ब्यानर देखाउँदै नाराबाजीसमेत गरे।
प्रचण्डलाई कालो झण्डा देखाउने क्रममा प्रहरीले ११ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका क्रममा सभागृह क्षेत्र केहीबेर तनावग्रस्त भयो।
प्रदर्शनका क्रममा दुईजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेहरू ७८ वर्षीय भीमप्रसाद चपाईं र ३० वर्षीया अनुराधा श्रेष्ठ रहेका छन्।
सूर्यदर्शन सहकारीपीडितहरूले पोखरामा प्रदर्शन गर्दै आएका छन्। यो सहकारीको बचत हिनामिनामा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबीसहित कांग्रेसले छानबिन माग गरिरहेको छ।