धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ। मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव रहेका छन्।
आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका ६ स्थित जनकपुर ढल्केबर सडकखण्डमा अनियन्त्रित भएर सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा बिहान करिब ६ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। मृतक २८ वर्षीय यादव धनुषाधाम नगरपालिका ५ का स्थानीय बासिन्दा हुन्।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार यादवका छिमेक ३० वर्षीय लक्ष्मी नारायण यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहको छ। मृतक सञ्चारकर्मी यादवको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।