राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।
यसअघि वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो। साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो।
उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको वडा नम्बर २ ले विवरण पठाइसकेको छ।
जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए।
लामिछानेले नेपाल सरकारलाई विपक्षी बनाई गत फागुन १० गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।
जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गर्दै आठ वर्षको कैद सजाय सुनाएको छ।