पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउने उद्देश्यले धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा पाँच दिने तेस्रो खाना महोत्सव (फुड फेस्टिभल) सुरु हुँदै छ।

‘रैथाने कला संस्कृति परिकारको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटकको प्रवर्द्धन’ भन्ने मूल नाराका साथ हुने महोत्सवमा स्थानीय अर्गानिक मौलिक खानाको परिकार आकर्षणको रुपमा रहने आयोजक संस्था हिले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र विष्टले बताए।

‘आर्थिक मन्दिका समयमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल गराएर आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सव गर्न लागिएको हो,’ विष्टले भने।

धनकुटा नगरपालिका–१ हिलेमा हुने महोत्सवमा कोदो, फापर र मकैको ढिँडो, कोदो र फापरको रोटी, गुन्द्रुकको अचार, सेलरोटी, कोदोको छ्याङ, हिलेको तोङ्गबा, सुकुटीलगायत स्थानीयस्तरमा पाइने मौलिक परिकारको स्टल रहनेछन्।

महोत्सवमा आउने पाहुनाका लागि हिले आसपासका पर्यटकीयस्थल समेटेर चार हजार छ सय रुपैयाँ बराबरको भ्रमणको प्याकेज मिलाइएको वडा नं। १ का वडाध्यक्ष वङ्दा तामाङले जानकारी दिए।

महोत्सवमा ३० हजार पर्यटक भित्राएर एक करोड २५ लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य आयोजकको छ।

पाँच दिन सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति र विभिन्न जातजातिको मौलिक संस्कृति प्रस्तुत गरिने आयोजकले जनाएको छ।