सुनसरीमा नयाँ वर्षका दिन मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा १ युवकको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार बराहक्षेत्र नगरपालिका३ हर्दियास्थित कालाबञ्जर–बाङ्गे भित्री पक्की सडकखण्डमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको दाँया साइडमा रहेको नालामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र ७ बस्ने २० वर्षीय सञ्जीव माझीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार माझीको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलमा सवार सोही ठाउँका २३ वर्षीय विशाल कोइराला घाइते भएका छन्।उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटना राति १०ः३० बजे तिरको भएको थियो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।