ताइवानमा आज बिहान ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा चार जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ। भूकम्पमा परेर दर्जनौं घाइते भएका छन्।

यो टापुमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प आएको हो। भूकम्पपछि दक्षिणी जापान र फिलिपिन्सका समुद्री क्षेत्रमा सुनामी आउने चेतावनी दिएको छ। ताइवानको सरकारले भूकम्पको केन्द्रविन्दु रहेको थोरै जनसंख्या भएको पूर्वी काउन्टी हुआलियनमा चार जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको बताएको छ।

अहिलेसम्म २६ वटा भवन भत्किएका छन् भने हुआलियनमा २० जना मानिस खण्डहरमा फसेका छन्। अहिले त्यहाँ उद्धार कार्य जारी छ। ताइवान टेलिभिजन स्टेशनहरूले हुआलियनमा बिहान ८ बजे भूकम्प जाँदा मानिसहरू काममा जाने र विद्यार्थीहरु स्कूल जाने दौडधुपमा थिए। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराई १५.५ किलोमिटर (९.६ माइल) रहेको मापन गरिएको छ।