गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ। उहाँले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो। 

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भए पनि उहाँले त्यसो नगरी पदबाट राजीनामा दिनुभएको हो। विश्वासको मत पाउने अवस्था नरहेपछि राजीनामा दिएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो। 

कूल ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सदस्यको समर्थन चाहिन्छ। प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ।

केन्द्रको सत्ता समीकरण अनुसार एमाले–माओवादी गठबन्धनको पनि सरकार बन्न सक्ने अवस्था छैन। त्यसका लागि राप्रपाको साथ आवश्यक पर्छ । राप्रपा सरकारलाई समर्थन गर्नेरनगर्ने विषयमा अनिर्णित छ।