गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ। यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ। यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ।

फागुन महिनामा यूएईमा १८ हजार ७०७, साउदीमा १३ हजार २६७, कतारमा ११ हजार ३९०, मलेसियामा ८ हजार ७१४, कुवेतमा ३ हजार २०६, रोमानियामा १ हजार ७८४ जना र जापानमा१ हजार ३६० जना रोजगारीका लागि पुगेका छन्। बहराइनमा ९२८, क्रोयसियामा ९१५, मोरिससमा ८५९, दक्षिणकोरियामा ७७०, साइप्रसमा ५७७ र अमोनमा ५३३ जना श्रमका लागि उडेका छन्।

महिनाभरिमा ३५ हजार ६६ जना पुरुष र ४ हजार ८४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन्।

चालु आर्थिक वर्षको माघ महिनासम्म ७ महिनाको अवधिमा नेपालले  विप्रेषण (रेमिट्यान्स) आप्रवाह २१।६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब पुगिसकेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७।१ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।