नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ। कमिटिको नवौं जिल्ला अधिवेशनको आज सम्पन्न मतगणना अनुसार कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो। 

अध्यक्ष पदमा नवनिर्वाचित विष्टले दुई सय ८८ मत प्राप्त गर्नुभएको थियो। बेँसीशहर नगरपालिका–११ मा घर भएका विष्ट यसअघि एमाले बेँसीशहर नगर कमिटिको अध्यक्ष हुनुहुन्थ्यो। यसअघिका जिल्ला अध्यक्षसमेत रहनुभएका अधिकारीले एक सय ९९ मत प्राप्त गर्नुभयो। विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो। 

उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन्। यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित हुनुभयो। गुरुङले दुई सय ४२ मत प्राप्त गर्नुभयो भने पौडेलले दुई सय ३७ मत प्राप्त गर्नुभय।

त्यस्तै, सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी हुनु भएको छ। राजेन्द्रले तीन सय ५८ मत प्राप्त गर्नुभयो भने मिश्रले एक सय १९ मत प्राप्त गर्नुभएको थियो। उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी हुनुभएको छ। बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्नुभयो भने अधिकारले एक सय २९ मत प्राप्त गर्नुभयो।

सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित हुनुभएको थियो। आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा पाँच सय छ जनाले गर्नुभएको थियो। निर्वाचित कमिटिको कार्यकाल तीन वर्षे रहने छ।