इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
‘सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरु पार्टीहरुलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपील गर्ने निर्णय गरेको छ’, उपमहासचिव ज्ञवालीले भने।
सुहाङ २०७९ ४ मंसिरको आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन्। सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।
यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरु बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेका थिए।