उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताउनुभएको छ। आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उहाँले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताउनुभयो।
उहाँले भन्नुभयो, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ। सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ।” उहाँले सरकार सञ्चालन र सुशासन कायम गर्ने विषयमा सबै शीर्ष नेताहरु एक ठाउँमा उभिएको बताउनुभयो। “अब मान्छे बचाउने होइन देश बचाउने हो। नेता बचाउने होइन जनता बचाउने हो”, उहाँले भन्नुभयो। गृहमन्त्री लामिछानेले गलत गतिविधि गर्नेहरु कानुनको दायरामा आउने भन्दै सना, ठूला, चिल्ला, खस्रा सबै माछा पक्राउ गर्ने बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछानेले होली पर्वले जस्तै हाम्रो जीवन र समाज पनि रङ्गीन बनोस भनेर शुभकामाना दिनुभयो। उहाँले होली पर्वसँगै सामाजिक सद्भाव सधैँ कायम होस् भन्दै मतदाताप्रति आफू सधैँ ऋणि रहेको र ब्याजसहित फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभयो। पार्टीले सरकारमा गएको दुई हप्तामै काम गरेर देखाएको उहाँको भनाइ छ।