प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी ठगीका सम्बन्धमा अनुसन्धानका लागि छानबिन समिति गठनलगायतका विषय उठान गर्नुभएको छ।
बैठकको आकस्मिक समयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौपानेले विभिन्न सहकारीको पैसा हिनामिना भएको विषयमा अध्ययन गर्न सदनमै छानबिन समिति गठनको माग गर्नुभयो। अप्ठयारो समयका लागि भन्दै बचतकर्ताले आफू र बच्चाका नाममा जम्मा गरेको ठूलो रकम हिनामिना भएको भन्दै उहाँले छानबिन समिति गठनको माग गर्नुभयो।
“सहकारीमा बचत गरेको पैसा हिनामिना गर्नेलाई कारबाही गरी पीडितको पैसा फिर्ता हुनुुपर्छ । सहकारीको रकम हिनामिनामा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिनुभएको छ”, सांसद न्यौपानेले भन्नुभयो, “सूर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीपछि गठन गरेको विज्ञको प्रतिवेदनमा पनि सो कुरा उल्लेख छ। सो विवरणमा बचतकर्ताको करोडौँ रकम हिनामिना भएको देखिएको छ।” सांसद न्यौपानले गरिबहरुले पेट काटेर पैसा बचत गरेका पैसा फिर्ता हुनुपर्नेमा माग गर्नुभयो।
सांसद मानवीर राईले सोलुखुम्बुको सोताङ गाउँपालिका वडा ३ निवासी तुलामान राई यही चैत ६ गते हुँगा नदीमा पुल बनाउने क्रममा ढुङ्गा किचेर मृत्यु भएको भन्दै निजको परिवारजनलाई क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो।
उहाँले गत फागुन २७ गते हराएका केशव राईको शव दुधकोशी नदीको किनारामा भेटिएको हुँदा मृत्युबारे अध्ययन गर्नेपर्ने र शान्ति सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्ने माग गर्नुभयो। सांसद राईका अनुसार लामो सयमदेखि सोताङ इलाका कार्यालयमा प्रशासकीय अधिकृत नहुँदा नागरिकता लिनेलगायतको काम हुन सकेकोभन्दै ध्यानकार्षण गराउनुभयो।
सांसद नारायणी शर्माले दाङको राजपुर गाउँपालिकामा तीन परिवार र गढवा गाउँपालिकाको मुलमान आचार्यको घर जलेर नष्ट भएको भन्दै क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले दुवै गाउँपालिकामा जनता घरमा जस्तापाताको छाना लगाउने आशामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद प्रेम सुवालले नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको भन्दै सेवालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद अमरबहादुर थापाले दैलेखमा पट्रोलियम पदार्थ उत्खननका सामग्री भन्सारमा रोकिँदा उत्खनन रोखिएबारे जानकारी गराउनुभयो।