अहिले देशभर मौसम बदली भएको छ। कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ। यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ। यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको जानकारी दिए। एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको उनले बताए।

मधेश प्रदेशको राजधानी जनकपुरधाममा अहिले बिहान सिमसिमे पानी परिरहेको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा धुलोमार्ने खालको मात्र पानी परेको छ।

मौसमविद झाका अनुसार काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ। ‘काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना छ,’ उनले भने।

उनका अनुसार गण्डकीदेखि पश्चिमको भू-भागमा भने तुलनात्मक रुपमा कम बदली छ। बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ। बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ।

यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ । भोलिदेखि मौसममा सुधार हुँदै जाने मौसमविद झाले बताए।