विराटनगरस्थित सहिद रंगशालामा आगामी चैत्र १५ देखि २४ गतेसम्म ८ औं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
मंगलबार आयोजकले पत्रकार सम्मेलन गर्दै विराट गोल्डकप फुटबल प्रतियोगिताको समय तालिका सार्वजनिक गरेको छ । १५ गते बेलुका ६ बजेदेखि राती ८ बजेसम्म फुटबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएका छन् ।
विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष तथा फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष किशोरबहादुर शाहीले विराटनगरको शहिद रंगशालामा दिवा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालनको लागि पुर्ण रुपमा तयारी भइ सकेको जानकारी दिए ।
अध्यक्ष किशोरबहादुर शाही ।
उनले फुटबल प्रतियोगितामा नेपाल, भारत र भुटान गरी ३ देशका १० टिमको सहभागिता रहेका जानकारी दिए । उनले प्रतियोगिता अवधिभरमा ९ वटा खेल खेलाइने र प्रतियोगिताका विजेतालाई ११ लाख र उपविजेतालाई ५ लाख ५१ हजार नगद सहित शिल्ड प्रदान गरिने जानकारी दिए ।
अध्यक्ष शाहील सो प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न कोशी प्रदेश सरकारले २५ लाख, विराटनगर महानगरपालिकाले १२ लाख, रुपैयाँ सहयोग गर्ने भएका छन् भने प्रतियोगिताको टिकट बिक्रीबाट ५० देखि ६० लाख रुपैयाँ प्राप्त गर्ने बताए । यसपालि पासको व्यवस्था नगरिएको आयोजकले बताएको छ । सो प्रतियोगिता सम्पन्न गर्न १ करोड १८ लाख रुपैयाँ खर्च हुने आयोजकले बताएको छ ।