नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने विरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदा हुँदै उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले विरोध जनाउँदै आएका छन्। नेपाली कांग्रेसले संसदमा र नेविसंघले सडक मार्फत आवाज उठाउँदै आएको छ।
यसै क्रममा सोमबार चाबहिलको पशुपति क्याम्पसका नेविसंघ विद्यार्थीहरुले लामिछानेको पुत्ला दहन गरेका थिए। उनीहरु मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए। उनीहरुले अर्थमन्त्री वर्षमान पुन विरुद्ध पनि प्रदर्शन गरे।