कोशी प्रदेशसहित गण्डकी र सुदूरपश्चिम प्रदेशका महामन्त्रीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हटाएको छ भने कर्णालीको सम्पूर्ण समिति नै विघटन गरेको छ।

कोशीका महामन्त्री लालबिक्रम थापा अनियमिततामा मुछिएको भन्दै जिम्मेवारीबाट हटाएका हुन्।

कोशीका महामन्त्री थापाले सनमुन प्लाजाका नाममा सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयको जग्गा भाडामा लिएका थिए। तर पाँच वर्षसम्म भाडा नतिरेको विषय बाहिरिएपछि प्रदेश समितिले स्पष्टीकरण सोधेको थियो।

चित्तबुझ्दो जवाफ नदिई सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा उत्रिएपछि केन्द्रीय अनुशासन आयोगको सिफारिसमा प्रदेश समितिले थापालाई हटाएको हो।

त्यस्तै,गण्डकी प्रदेशका महामन्त्री अशोक खड्कालाई समय नदिएको, कार्यसम्पादन कमजोर भएको, गुट निर्माण गरेको लगायत आरोपमा ५ मंसिरमा बर्खास्तीमा परेका थिए।

फागुन ६ मा बसेको रास्वपाको सचिवालय बैठकले कर्णाली प्रदेशको कमिटी नै विघटन गरिदिएको छ। सभापति धिरज वली नेतृत्वको प्रदेश समिति एक वर्ष पूरा गरेलगत्तै विघटनमा परेको हो।