नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ। 

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ राख्नुहुँदै अध्यक्ष ओलीले यो दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो। उहाँले सङ्गीत कला क्षेत्रका महानुभावप्रति पनि समवेदना प्रकट गर्नुभयो।

उहाँलाई श्रद्धाञ्जलि दिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता मीनेन्द्र रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा प्रभाकरलगायत विभिन्न दलका नेता तथा शुभेच्छुकहरुको उपस्थिति थियो। 

प्रतिष्ठानमा श्रद्धाञ्जलिको अर्पण जारी छ। उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। भजन शिरोमणिसमेत उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। 

गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत सङ्गीत क्षेत्रमै हुनुहुन्छ। नेपाली सुगम सङ्गीतमा महत्वपूर्ण योगदान दिनुभएका आचार्यले चार सय बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ।