बारा जिल्लाको निजगढ नगरपालिका–७ मा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने विस्फोटमा पाँच जना घाइते भएका छन्। 

घटनामा ६ जना घाइते भएकोमा ४५ वर्षीय रेशम मगरको पर्साको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।

सो अस्पतालमा वीरगन्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान र २० वर्षीया रितु रजतका साथै भारत घर भएका ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन साहको उपचार भइरहेको छ।

निजगढ बजारमा सञ्चालनमा रहेको रेशम मगरको वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा दिउँसो करिब १२ बजे ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

४५ वर्षीय सूर्यबहादुर थापाको बाराकै सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन्।