मोरङको बुढीगंगा गाउँपालिका-४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको लहरी पल्टिँदा तीन बालबालिकासहित ४ जना घाइते भएका छन्। बिहान मार्बल लिएर आउँदै गरेको आर.जे. २९ जी.बी. १५६१ नम्बरको लहरी साँघुरो सडकमा पल्टिएको थियो।
कच्चा पर्दाथ बोकेर उद्योगतर्फ जाँदै गरेको लहरी गाडी बुढीगंगा-४ स्थित एक जनाको घरमा पल्टिएको स्थानीयले बताएका छन्। घरमा भित्र बसेका चार जनालाई मालवाक सामान बोकेको लहरीले थिचेको प्रहरीले जनाएको छ। घाइतेको पहिचान खुल्न बाँकी रहेको छ।
बिहान ७ बजे दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटना भएको दुई घण्टापछि प्रहरी टोली घटना स्थलमा पुगेर अहिले उद्धारको प्रयास गर्दै आएको छ। घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहाल, मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेसहितको टोली पुगेको छ।
प्रहरी निरीक्षक न्यौपानेले क्रेनको सहयोगले घाइतेको उद्धार गर्ने काम भइरहेको बताए। ‘अहिले हामी उद्धारको लागि खटिएका छौं,’ उनले भने, ‘घरमा ३ जना बालबालिकासहित ४ जना बसेको भन्ने खबर छ। एकिन भएको छैन। त्यसैले हामी उद्धारमा लागि परेको छौं।’मार्बल बोकेको लहरी गाडी बुढीगंगाको जेएनजे मालर्वल उद्योगमा कच्चा पदार्थ बोकेर लगिएको बुझिएको छ।