लामो समयदेखि बन्द अवस्थामा रहेको मुलुककै जेठो उद्योग विराटनगर जुट मिलमा आगलागी भएको छ।
विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिलमा मंगलबार राति भएको आगलागी शंकास्पद रहको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट आगलागीमा २० लाख बराबरको क्षति भएको खुलेको छ। सरकारी स्वामित्वको जुट मिल २०७८ साल माघदेखि बन्द रहेको थियो।
बन्द अवस्थाको जुट मिलको ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी सुरु भएको हो। मिलका सुरक्षा कमाण्डर पप्पु सुब्बाले जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने डिपार्टबाट आगलागी सुरु भएको र नियन्त्रणमा लिन निक्कै समय लागेको जानकारी दिए।
उनका अनुसार आगोले जुटका बोरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पूर्णरूपमा जलेर क्षति भएको छ। मिलका २ वटा मेसिनमा समेत आंशिक क्षति पुगेको र आगलागीको कारण हालसम्म नखुले पनि घटनामा २० लाख बराबरको क्षति भएको सुब्बाले बताए।
नेपाल एवं सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र विराटनगर महानगरपालिकाबाट गएको दमकलको सहयोगमा बुधबार बिहानका राति १ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो। नेपाल प्रहरीका तर्फबाट इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासेको नेतृत्माको टोली आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।
२ वर्षदेखि बन्द अवस्थामा रहेको जुट मिलमा एक्कासि आगलागी हुनुले घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ। जुट मिलको विषयलाई लिएर पुराना कर्मचारी र व्यवस्थापनबीच बेलाबेला विवाद हुने गरेको पाइएको प्रहरीको भनाइ छ। मिलमा काम गरेका पुराना कर्मचारीले लामो समयदेखिको भुक्तानी पाउन सकिरहेका छैनन् ।
प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुनै व्यक्तिले आगो लगाएजस्तो देखिन्छ । घटना शंकास्पद देखिएकाले दायरा फराकिलो पारेर अनुसन्धान सुरु गरि घटनामा कोही कसैको संलग्नता देखिए पक्राउ गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।
मिलका सुरक्षा कमाण्डर सुब्बाका अनुसार घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुन्छ। बन्द रहेको जुट मिल सरकारले केही समयभित्रमै सञ्चालन गर्न लागेको र मिल चलेको हेर्न नचाहने समूहले आगो लगाएको हुनसक्ने सुब्बाले बताएका छन् ।