आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशैभर बादल लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहान विराटनगर र पोखरामा फाट्टफुट्ट वर्षा भएको सूचना आएको महाशाखाका मौसमविद सन्जिव अधिकारीले जानकारी दिए। यद्यपि वर्षाको मात्राको आधिकारिक तथ्यांक भने केही घण्टापछि आउने उनले बताए।

उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा पनि फाट्टफुट्ट वर्षाको सम्भावना छ। तर आजभन्दा भोलि वर्षाको झन् धेरै सम्भावना रहेको उनले बताए। आज (बुधबार) तराई-पहाड सबैतिर देशभर नै बादल लागेको छ। आजभन्दा भोलि(बिहीबार)धेरै वर्षाको सम्भावना रहेको छ।

बिहीबार तराई मधेशका जिल्ला र कोशीसहितका अरु पहाडी भू-भागहरुमा पनि वर्षाको सम्भावना रहेको मौसमविद अधिकारीले बताए । एक-दुई ठाउँमा मेघ गर्जन पनि हुनसक्ने उनले बताए।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव छ। पश्चिमी वायु नेपालको पश्चिम भूभागबाट प्रवेश गरी पूर्वतिर सर्ने क्रममा छ। यसको प्रभावले अघिल्ला दिनहरुमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भएको थियो। उच्च पहाडी भेगका केही ठाउँमा हल्का हिमपात पनि भएको थियो।

विगत चौबिस घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही भू-भागमा र बागमती प्रदेशका थोरै भू-भागमा वर्षा भएको मौसम पूर्वानुमान महाशााले जनाएको छ।

महाशाखाका मौसमविद अधिकारीका अनुसार विगत चौबिस घण्टामा गोरखामा १३.२ मिलिमिटर वर्षा भएको छ। यसैगरी कालिकोटको विजयपुर रास्कोटमा ७ मिलिमिटर, डडेलधुरा ५.६ मिलिमिटर र अछाममा ४.८ मिलिमिटर वर्षा भएको उनले जानकारी दिए।

उनले भने, ‘पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाटै नेपाल प्रवेश गर्ने हो। कर्लीणाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा मध्यम वर्षा पनि भएको छ। सुदूरपश्चिमका तराई भूभागमा फाट्टफुट्ट वर्षा भएको छ। अरुतिर खासै धेरै देखिएको छैन। आज र भोलि चाहिँ काठमाडौं उपत्यकासहित तराई मधेशमा पनि वर्षा हुने देखिन्छ।’