क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको अन्टारियोमा रहेका नेपाली बेनुपराज भट्टराईले जानकारी दिनुभयो।
दुर्घटनामा पर्ने नेपालीहरू उच्च शिक्षा अध्ययन गर्न पुगेका उल्लेख गरिएको छ। घटनामा १० जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ। स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको भट्टराईले बताउनुभयो। उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेका जनाइएको छ।
स्थानीय एक मोटर पार्ट्स कम्पनीमा आंशिक समय कार्यरत उनीहरू बिहानीको ड्युटी गर्नका लागि उज्यालो नहुँदै कारमा कार्यस्थलतर्फ गइरहेका बेला दुर्घटना भएको थियो।
प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रूपमा उनीहरूको नाम सार्वजनिक नगरिएको हो।