कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ।
पहिचानसहित प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनरत संयुक्त सङ्घर्ष समिति तयार भएपछि वार्ता भएको हो । केही समयअघि कोशी प्रदेश सरकारले वार्ताका पत्र पठाएको थियो।
कोशी प्रदेश सरकारले सङ्घर्षरत आन्दोलनरत पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जबेगूको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो।
टोलीमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिवको रूपमा छन्।
वार्तामा प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिको तर्फबाट डकेन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन मिराक, पदम लिम्बु, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन्।
कोशी प्रदेशसभाले गत वर्ष फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो। उक्त नाम पहिचानयुक्त नभएको भन्दै पहिचानको आधारमा नामकरण गर्न माग पहिचानवादीले गरेका थिए।
प्रदेशको पुनः नामकरण गर्नुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका छन्। आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारीबिच पटक पटक झडप भएका थिए। त्यसक्रममा आन्दोलनकारीमध्ये एक जनाको मृत्यु पनि भएको थियो।