कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सुकुम्बासीका लागि घर बनाउन शुक्रवार श्रमदान गरेका छन् ।
विराटनगर- १६ दरैहयाका सुकुम्बासी तथा असहाय परिवारको घर निर्माणमा मुख्यमन्त्री कार्कीले श्रमदान गरेका हुन् । उनीसँगै सुकुम्बासीको घर निर्माणमा प्रतिनिधिसभा सदस्य सांसद योगेन्द्र मण्डलले समेत श्रमदान गरेका थिए ।
यस अघि मुख्यमन्त्री नभएका बेला पनि उनी बेला बेला आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सुकुम्बासी बस्तीहरुमा घर निर्माणका लागि श्रमदान गर्न पुग्ने गरेका थिए।
मुख्यमन्त्री कार्की सहितले श्रमदान गरेर शिव राईको घर बनाएका हुन् । घर निर्माणले विपन्न असहाय स्थानीय शिव राईले आर्थिक अभावमा तीन जना छोराछोरी र श्रीमान् श्रीमती गरी पाँच जना परिवारका सदस्य एउटै सानो झुपडीमा बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।
घर निर्माण सामग्री जीवन विकास समाज कटहरीले र घरमा ओछ्याउन म्याट्रेस, त्रिपाल, कम्बल लगायतका लुगा, भाडावर्तन, खाद्यान्न मुख्यमन्त्री कार्कीले उपलब्ध गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गरिब, दलित, सुकुम्सीबाको समेत भएकोले सरकार साथमा छ भन्नका लागि घर निर्माणमा श्रमदान गरेको बताएका छन्। विपन्न गरिबलाई सरकारको अनुभूति गराउनुका साथै निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्नसमेत श्रमदान गरेको बताए ।
गरिबका दुःख समाजका सबैले बुझेर एक अर्कालाई पारस्परिक सहयोगको भावना सामाजिक सञ्जालमा रमाउने अहिलेका युवाहरूमा विकास गराउनका लागि पनि काम गरेको उनले बताएका छन् ।




















