नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य दलहरुको रहेको बताउनुभएको छ। चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको उल्लेख गर्नुभयो।
नेता कोइरालाले लामो समयदेखिको उपलब्धिमाथि खेलवाड गर्नुहुँदैन भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताप्रति लक्षित गर्दै उहाँले आन्दोलनबाट हटाइएको एउटा संस्था पुनःस्थापना गर्न कठिन हुने बताउनुभयो ।
फरक प्रसङ्गमा नेता कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा आएको मतपरिणामले सत्ता गठबन्धनमा उथलपुथल ल्याएको बताउनुभयो । मत परिणाम नसोचेको आए पनि सत्ता गठबन्धन परिवर्तन नहुने भनाइ थियो । उहाँले भन्नुभयो “कोशी प्रदेशको मतले केही सङ्केत देखाएको छ । तर समिकरणमा परिवर्तन हुँदैन ।”
सरकारलाई सचेत गराउने कांग्रेसको कर्तव्य भएको नेता कोइरालाले बताउनुभएको छ। “समुदायमा कांग्रेस" कार्यक्रम पनि यही अनुसार भइरहेको छ। वि.सं. २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन गरिएको नेता कोइरालले बताउनुभयो ।