प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिँदै छ । नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन फुङ्लिङ आउनुभएका उहाँ अचानक बिरामी पर्नुभएको हो।

सांसद नेम्बाङलाई हेलिकप्टरमा काठमाडौँ लैजाने तयारी भइरहेको एमाले ताप्लेजुङका अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिनुभयो । जिल्ला अस्पतालले उहाँलाई उपचारका लागि  सुविधासम्पन्न अस्पताल लैजान सुझाव दिएको अध्यक्ष थेबेले बताउनुभयो । 

पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङको इञ्चार्ज रहनुभएको उहाँ आज बिहान फिदिमबाट ताप्लेजुङ पुग्नु भएको हो । खाना खाएर कार्यक्रममा जाने समयमा अचानक बिरामी परेपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।

तमोर अस्पतालमा प्रारम्भिक स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला अस्पताल लगिएको थियो । जिल्ला अधिवेशन लगायत विषयमा छलफल गर्न एमाले ताप्लेजुङको सचिवालय बैठक डाकिएको थियो । सोही बैठकका लागि सांसद नेम्बाङ फुङलिङ आउनुभएको अध्यक्ष थेबेले बताउनुभयो ।