कोशी प्रदेश सरकारले मन्त्री परिषद विस्तार गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री कार्कीले तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको स्रोतले जनाएको छ तर, कहिले मन्त्रीपरिषद विस्तार हुने भन्ने मिति तय भएको छैन। मन्त्री परिषद विस्तारको विषयमा सामान्य छलफल भएको माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले जानकारी दिनुभयो।
शुक्रबार बैठक बसेको तर ठोस निर्णय नभएको एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र कुमार राईले बताउनुभयो। ‘हामीले सरकार विस्तार छिटो गर्नु भनेर जोड गरेका हौँ, मुख्यन्त्री ज्युले समय माग गर्नुभएको छ,’ राईले भने,‘हाम्रो चाहीँ तयार भएकाले जोड गरेको हो मुख्यमन्त्री ज्युले समय माग गर्नुभएको छ।’ काँग्रेसबाट प्रदिप कुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री तथा इन्दिरा थापालाई राज्यमन्त्री बनाउने मुख्यमन्त्रीको तयारी रहेको स्रोतले जनाएको छ।
माओवादी केन्द्रबाट एक जना मात्रै मन्त्री बन्ने परिस्थितिमा उदयपुरका नारायण बुर्जा मगर र दुई मन्त्री बन्दा संखुवासभाका राजेन्द्र कार्की नियुक्त हुने सम्भावना रहेको छ। मुख्यमन्त्री कार्कीले माओवादीबाट तत्कालका लागि एक जना मात्रै मन्त्री थप गर्ने योजनामा छन् तर, माओवादीले दुई मन्त्री नियुक्त गर्न दबाब दिइरहेको छ।
हाल काँग्रेसबाट मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राई, माओवादीबाट पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगू भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भइसकेका छन्।
काँग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।