उत्तरी क्षेत्रमा अवस्थित षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय दिङ्लाबाट शिविरमार्फत नागरिकता वितरण भइरहेको छ।

भौगोलिकरुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछोका बासिन्दालाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाइ बस्ने गरेका छन् ।  

नागरिकले पाएको सास्तीलाई ध्यानमा राखेर यहाँका स्थानीयलाई घुम्ती शिविर सञ्चालन गरेर नागरिकता प्रदान गरिएको छ। साल्पासिलिछो गाउँपालिका र इलाका प्रशासन कार्यालय दिङ्लाको समन्वयमा यहाँ शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो।

गाउँपालिकाका ग्रामीण क्षेत्रका नागरिकलाई नागरिकता लिनका लागि सदरमुकाम तथा इलाका प्रशासनसम्म पुग्न धेरै समय र बढी खर्च लाग्ने गरेकाले सहज र सरल किसिमले सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेर सेवा प्रवाह गरिएको हो ।

इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीसहितको समूहले शिविरमार्फत स्थानीयलाई नागरिकता वितरण गरेको छ । शिविरमार्फत सेवा प्रवाह गर्न गाउँपालिकासँगको सहकार्यमा इलाका प्रशासन कार्यालयले गत पुस २५ गतेदेखि विवरण सङ्कलन गरेको हो। 

त्यही विवरणका आधारमा नयाँ नागरिकतासँगै प्रतिलिपि वितरण गरिएको हो। राष्ट्रिय जनगणना २०७८ अनुसार सो गाउँपालिकाको कूल जनसङ्ख्या १२ हजार दुई सय ८४ रहेको छ । यहाँ दुई हजार नौ सय ९८ घरघुरीको बसोबास छ।