राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई ध्यानाकर्षण पत्र बुझाएको छ।

दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको भन्दै यस प्रति गम्भीर हुन आज मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको हो ।

दुर्घटनाहरुप्रति सरकार गम्भीर नभएको भन्दै सवारी दुर्घटनाको भयावह अवस्था, दुर्घटनाकै कारण व्यहोर्नु परिरहेको सामाजिक र आर्थिक समस्या तथा दुर्घटना न्यूनीकरणमा सरकारका योजना र कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल गरी निष्कर्षमा पुग्न बाञ्छनीय देखिएकाले आवश्यक व्यवस्था वा निर्देशनका लागि मन्त्रीसमक्ष आग्रह गरिको रास्वपाले जनाएको छ ।

माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौंको चन्द्रागिरि र बाग्लुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको थियो र ३३ जना घाइते भएको उल्लेख गर्दै यो वर्षको मंसिरसम्म मात्र देशभर साना(ठूला गरेर करिब १० हजार ७ सय ४५ वटा दुर्घटना भएको प्रहरीको तथ्यांक पनि उक्त पत्रमा उल्लेख गरिएको छ ।

ती दुर्घटनाहरुमा ९ सय १६ जनाले ज्यान गुमाएको, दुई हजार ७ सय ९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएको जनाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार दैनिक सरदर ५४ वटा दुर्घटना हुन्छन् र तिनमा ६ जनाको मृत्यु, १४ जना गम्भीर घाइते हुने गरेका छन्।

पछिल्लो तीन वर्षमा ५८ हजार ८ सय ७८ वटा दुर्घटना हुँदा ६ हजार १ सय ६७ जनाले ज्यान गुमाएका थिए भने १५ हजार ७ सय ७१ जना गम्भीर घाइते भएका थिए । प्रत्येक वर्ष औसतमा २ हजारभन्दा बढीले दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।