नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ।नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उहाँले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताउनुभयो ।
“राजनीाितकमा इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन” नेता सिंहले भन्नुभयो ।
वि.सं. २०१७ मा निष्ठाको राजनीति गरेकाले गणेशमान र कृष्णप्रसाद भट्टराई अहिले पनि जनताले स्मरणमा स्वच्छ नेताको रुपमा चिनिँदै आएका छन् । नेपाली कांग्रेसले अब आफ्नो नीतिमा सुधार गर्दै जनता केन्द्रित राजनीति गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
इमान्दार भएर जनताका काम नगर्ने हो भने अब कुनैपनि राजनीाितक दलको भविष्य नरहने बताउँदै समयअनुसार दलहरु पनि परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताउनुभयो । नेपाली कांग्रेसलाई देशकै ठूलो पार्टीको रुपमा स्थापित गर्न युवा तथा निष्ठावान नेताको खोजी गर्न जरुरी रहेको र लोकतन्त्रमाथि आक्रमण भइरहेको बेला लोकतान्त्रिक पार्टी एक जुट भई यो व्यवस्थालाई मजबुद बनाउनु पर्ने उहाँको भनाइ छ ।
प्रजातन्त्र तथा लोकतन्त्र ल्याउनमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उहाँले लोकतन्त्रलाई बचाइ राख्ने दायित्व पनि कांग्रेसको काँधमा आएको बताउनुभयो ।