स्वच्छ, खुल्ला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियानले काठमाडौँको खुलामञ्चमा खेल मैदान बनाउन लागेको विषयप्रति चासो देखाएको छ।
अभियानले आइतबार विज्ञप्ति जारी गर्दै पछिल्लो समय खुलामञ्चमा दुईवटा फुटबल ग्राउन्ड निर्माण गर्न लागिएको जानकारी प्राप्त हुन आएको जनाएको हो ।
अभियानले टुँडिखेल प्रतिदिन मासिँदै गएकोमा चिन्ता समेत जनाएको छ । सन् १९६७ मा ५२ प्रतिशत सार्वजनिक खुला क्षेत्र भएको टुँडिखेलको भूभाग क्रमशः सन् १९९० मा ३३ प्रतिशत, सन् २००० मा २५ प्रतिशत र सन् २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चन पुगेको जनाउँदै अभियानले यसको अतिक्रमण हुने क्रम बढ्दो रहेको जनाएको छ ।
अभियानले खुल्ला मञ्चलाई पहिलाको जस्तै घाँसे मैदान बनाउने प्रयास गरे पनि यसअघि स्थानीय सरकारले ३ तहको भूमिगत पार्किङ निर्माण गर्ने चर्चा समेत भए पनि विरोधका कारण रोकिएको थियो।