सत्ता गठबन्धन सम्बद्ध दलहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनबाट गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रिय सभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो,’ अपिलमा भनिएको छ ।

गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको सात दलको भनाइ रहेको छ । ‘हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका देहाय बमोजिमका साझा उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन हार्दिक अपील गर्दछौं,’ सात दलको अपिल छ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन्।